करण केसीको घातक बलिङ, मलेसिया १०३ रनमै अलआउट
एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै घरेलु टोलीलाई १०३ रनमै अलआउट गरेको छ।
बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरले ३२.३ ओभरमै समेटेका हुन्। नेपालका लागि करण केसीले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चिए।
ललितनारायण राजवंशीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे। अन्य ब्याट्सम्यान भने नेपाली बलरसामु टिक्न सकेनन्।
अब नेपालले जितका लागि १०४ रनको लक्ष्य पछ्याउनेछ। पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ।