बेत्रावतीबाट उद्धार गरिएकी चण्डिकालाई सैनिक अस्पताल छाउनीमा भर्ना गरियाे
रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ ।
जीवितै उद्धार गरिएकी श्रेष्ठलाई उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको हो । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको थियो ।
उद्धारका क्रममा श्रेष्ठ अर्धअचेत अवस्थामा भेटिएकी थिइन् । उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।