भोटेकोशी बाढीमा बेपत्ता प्रमिलाको कुसको पुतला बनाएर अन्तिम संस्कार
सल्यानको बागचौर नगरपालिका–८ गैरागाउँका स्थानीय शनिबार बिहान एकै ठाउँमा भेला भए। कसैले रूख काटे, कसैले हरियो बाँसको सला तयार पारे। गाउँमा दुःख पर्दा सबै मिलेर साथ दिने परम्पराअनुसार उनीहरू प्रमिला बुढाथोकी बस्नेतको अन्तिम संस्कारका लागि जुटेका थिए।
भदौ १० गते रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रमिला बेपत्ता भएकी थिइन्। आफन्त र स्थानीयले ९/१० दिनसम्म सम्भव भएसम्म खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेन।
शव फेला नपरेपछि परिवार र समाजले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार कुसको पुतला बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।
बागचौर–८ का वडाध्यक्ष सुशिलजंग चन्दका अनुसार बाढी गएको क्षेत्रको अवस्था हेर्दा प्रमिला जीवित रहेको विश्वास गर्ने अवस्था नरहेपछि परिवारले मनमा द्विविधा राखेरै भए पनि काजकिरिया गर्नुपरेको हो।
परिवार र आफन्तको उपस्थितिमा पुरेतले धार्मिक कर्म गराएपछि प्रमिलाको घरबाट कुसको पुतला उठाएर करिब डेढ सय जना मलामीसहित शारदा नदीको कालाखेत आर्यघाट लगिएको थियो।
प्रमिलाका १३ वर्षीय छोरा सुशान्त बस्नेत र ६ वर्षीय छोरा सुदीपले कुसको पुतलालाई काँध दिएका थिए। कान्छा छोरा सुदीपले दागबत्ती दिएपछि परिवार, आफन्त र मलामीले चितामा बत्ती दिएका थिए।
जेठा छोरा सुशान्त आमाको काजकिरियामा बसेका छन्। उनी कक्षा ९ मा अध्ययनरत छन् भने सुदीप पनि दाङको तुलसीपुरस्थित तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत छन्। दुवै बालक तुलसीपुरमा आन्टीसँग बस्दै आएका छन्।
वडाध्यक्ष चन्दका अनुसार आमाको अन्तिम संस्कार भइरहेको गहिरो अर्थसमेत सुदीपलाई थाहा थिएन। उनी अन्तिम संस्कार भइरहेका बेला बालुवामा खेल्दै रमाइरहेका थिए।
प्रमिलाका श्रीमान् गोबिन्द बस्नेतको कोरोना महामारीका क्रममा मृत्यु भएको थियो। उनी पहिले म्यानपावर व्यवसायमा संलग्न थिए। पछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्सार नाका क्षेत्रमा बसेर नेपाल–चीन भन्सार नाकामा सामान ओसारपसारको काम गर्दै आएका थिए।
श्रीमान्को मृत्यु भएपछि प्रमिलाले टिमुरेमा रहेको घरमा बसेर उनको काम सम्हाल्दै आएकी थिइन्। आम्दानी ठीकै हुने भएपछि उनले माइतीतर्फका दाजु ४१ वर्षीय रिमबहादुर बुढाथोकी, भाउजू ३९ वर्षीया रिता बुढाथोकी र उनीहरूका १७ वर्षीय छोरा प्रवीण बुढाथोकीलाई समेत रसुवा लगेकी थिइन्।
भदौ १० गते आएको बाढीमा रिमबहादुर, रिता र प्रवीण पनि बेपत्ता भए। त्यस्तै, दाङको राजपुर गाउँपालिका–७ सिक्टामा विवाह गरी फुपू प्रमिलासँगै टिमुरेमा बस्दै आएकी लक्ष्मी बुढा पनि बेपत्ता भएकी छन्।
यसरी भोटेकोशीको विनाशकारी बाढीमा एउटै परिवारका पाँच जना बेपत्ता भएका छन्।
शारदा नगरपालिका–१३ का वडाध्यक्ष जंगबहादुर बुढामगरका अनुसार शुक्रबार रिमबहादुर, रिता र प्रवीणको पनि कुसको पुतला बनाएर मोख्लास्थित शारदा नदीको दोभानमा सामूहिक अन्त्येष्टि गरिएको थियो।
जनप्रतिनिधिको हैसियतले वडाध्यक्ष बुढामगर आफैं काठमाडौं, चितवनलगायतका स्थानमा पुगेर बेपत्ताको खोजीमा जुटेका थिए। तर ९/१० दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेन।
बाढीग्रस्त क्षेत्रको अवस्था र लामो समयसम्म बेपत्ताको कुनै जानकारी नआएपछि परिवार तथा समाजले काजकिरियाका कार्यक्रम अघि बढाउने निर्णय गरेको उनले बताए।
वडाध्यक्ष बुढामगरले यस्तो अन्योलपूर्ण अवस्थामा लामो समयसम्म बसिरहनुभन्दा आफ्नो तर्फबाट धार्मिक तथा सांस्कृतिक कर्म पूरा गरेर पीडाबीच पनि जीवनलाई अगाडि बढाउने निर्णयमा पुगेको बताए।
भोटेकोशी–त्रिशूली बाढीले अकल्पनीय पीडा दिएको भन्दै वडाध्यक्ष चन्दले अब बाँचेकाहरूलाई सम्हाल्दै जीवन अगाडि बढाउनुपर्ने बताए। उनका अनुसार कोरोना महामारीमा बुवा गुमाएका प्रमिलाका दुई नाबालक छोरा अहिले आमासमेत बेपत्ता भएपछि अभिभावकविहीन भएका छन्।
उनले ती बालकहरूको भविष्य निर्माणमा परिवार, समाज र राज्य सबैले सहयोग गर्नुपर्ने बताए। विपद्को पीडा साझा भएकाले बाँचेकाहरूलाई सम्हाल्न सबै पक्षले हातेमालो गर्नुपर्ने उनको भनाइ छ।