लुम्बिनी लायन्स एनपीएल च्याम्पियन, सुदूरपश्चिम रोयल्स उपविजेतामा समेटियो
काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को उपाधि जितेको छ। फाइनलमा लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ९ ओभरमै पूरा गर्दै नयाँ च्याम्पियन बनेको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेको चौथो विकेटका लागि २५ रनको साझेदारी भए पनि रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको सानदार बलिङले टोलीको इनिङ्स धराशायी बनायो।
लुम्बिनीका लागि दिनेश अधिकारीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ४२ रन बनाए। उनले डार्शी सर्टसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टीमलाई सशक्त शुरुवात दिलाए। तर, हेमन्त धामीले पाँचौं ओभरमा दुबै खेलाडीलाई आउट गर्दै साझेदारी तोडे।
लुम्बिनीको बलिङ प्रदर्शन पनि उत्कृष्ट रह्यो। रोहितले ४ ओभरमा १२ रन खर्चेर ह्याट्रिक सहित ३ विकेट लिए भने रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिँदा, शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।
यससँगै लुम्बिनीले पछिल्लो ६ खेलमा लगातार जित हात पार्दै शानदार प्रदर्शन गर्दै उपाधि जितेको हो भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सिमित रह्यो।