मन्त्रीको भागबन्डा : ओलीले खोजे गगन–विश्व, आरजुको परराष्ट्र रहर
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अड्डी लिइरहेकै बेला नयाँ समीकरणको भागबन्डा कस्तो होला ? चासो बढेको छ । अबको मुख्य सकस नै यही हुने र प्रतिपक्षमा पुग्ने शक्तिले यसै असन्तुष्टिमा खेल्ने चर्चा पनि छ । फलतः दुई पार्टीबाट कसको नेतृत्वमा कस्तो टिम बन्छ भन्ने प्रश्न उठ्दा कसरी हँुदैछ त यसको तयारी ?
कति दिनपछि सत्ता यात्रा भन्ने टुङगो नलाग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेकै छनक दिन थाल्दा भागबन्डाको विषय पनि चासोपूर्ण बनेको छ । दुई ठूला दल कै समीकरण बन्नु र संविधान संशोधनदेखि नागरिकमा आशा पलाउने गरि काम गर्नुपर्ने कार्यभार उनीहरुमा छ ।
गठनबन्धनको आधार नै देशमा राजनीतिक स्थीरता, दु्रत विकास र गणतन्त्रको सर्वस्वीकार्यरता बढाउनु रहेको उनीहरुको दाबी छ । फलतः एकातर्फ चुस्तदुरुस्त चाहिने यो मन्त्रिपरिषद ओलीको नेतृत्वका कारण पनि खास हुनु पर्ने चर्चा छ भने अर्कातर्फ मन्त्री बन्न समीकरणमा समेटिने पार्टीका नेताहरुको दौडधुप बढ्न थालेको छ । हुन त कांग्रेस र एमालेले प्रधानमन्त्रीको राजीनामा पछि मात्रै मन्त्रालय भागबन्डा गर्ने बताएका छन् ।
त्यस्तै यसै विषयमा छलफल गर्न शनिबारका लागि कांग्रेसले संसदीय दलको बैठक नै बोलाएको छ । त्यसमा कांग्रेसले पाउने सबैभन्दा ठूलो पद उपप्रधानसहित गृहमन्त्रालय भएको लगभग पक्का छ । त्यसको दौडमा उपसभापति पूर्णबहादुर खड्का नै रहे पनि यसअघि नै यो अवसर पाएका उनी र धनराज गुरुङ पहिलो प्राथमिकतामा नपर्ने चर्चा छ । अहिले यसमा संविधान संशोधनको मुद्दा भएकाले कृष्ण सिटौला पठाउने शेरबहादुर देउवाको चाहना देखिँदा एमाले ओलीसँग उनको नमिलेको ग्रहका कारण यो केही बाधा पनि छ ।
त्यसो भएको खण्डमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला पनि दौडमा छन् । त्यसमा शंशाकको विरोध नै भाग मागेको रुपमा हेरिँदा मन्त्रीमा रमेश लेखक र ज्ञानेन्द्र कार्की निश्चित जस्तै छ । यो समीकरणको सेतु नै उनीहरु हुन् भने दुबै जना यो संसदमा मन्त्री भएका छैनन् । त्यस्तै प्रत्यक्ष निर्वाचित सीता गुरुङ पहिल्यै मन्त्री भएपछि महिलाको भाग पुर्याउन पनि आफू मन्त्री हुनुपर्ने दाबी गर्ने आरजु राणा परराष्ट्र मन्त्रालयको लबिङमा छिन् । यता संसदीय समितिमा नेतृत्व नपाएकाहरु मन्त्री दौडमा रहँदा महामन्त्री गगन थापाले पालो पाएका पुरानालाई नदोहो¥याउनेभन्दै विश्वप्रकाश शर्माको नेतृत्व हुनुपर्ने संकेतसमेत गरेका छन् ।