आज पनि वर्षा र चट्याङको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका अधिकांश स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
महाशाखाका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।