स्लोभाकियालाई पराजित गर्दै इङ्ल्याण्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । स्लोभाकियालाई पराजित गर्दै उपाधि दावेदार इङ्ल्याण्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको गेल्सेनकर्चेनमा भएको प्र-क्वाटरफाइनल खेलमा इङ्ल्याण्डले अतिरिक्त समयमा पुनरागमन गोल गरेर स्लोभाकियालाई २-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
इभान स्क्रान्जले २५ औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । इन्ज्युरी समयको पाँचौं मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका हुन् ।
अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्याण्डलाई अग्रता दिलाए । इभान टोनीको पासमा सबैभन्दा अघि पुग्दै केनले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल जितका लागि पर्याप्त बन्यो ।
इङ्ल्याण्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड विरुद्ध खेल्ने भएको छ । स्वीट्जरल्याण्डले इटालीमाथि जित हात पार्दै अन्तिम आठमा प्रवेश गरेको हो ।