बाढीले बगाएको घरका सुनचाँदीका गहनासहित धादिङमा एक जना पक्राउ
त्रिशूली नदीको बाढीले बगाएर ल्याएको सुन तथा चाँदीका गहनासहित धादिङबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो। घरसँगै बगेका सुनका गहना भदौ ११ गते तामाङले फेला पारेका थिए।
फेला पारेका गहना सम्बन्धित व्यक्तिलाई जानकारी नगराई तामाङले आफ्नो घरमा लगेर राखेको पीडित बोगटीले अन्य व्यक्तिमार्फत थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
प्राप्त सूचनाका आधारमा भदौ २६ गते अस्थायी प्रहरी पोस्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई गहनासहित नियन्त्रणमा लिएको हो।
प्रहरीले तामाङको साथबाट सुनजस्तो पहेँलो धातुको तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी र रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र बरामद गरेको जनाएको छ। यस्तै, चाँदीजस्तो सेतो धातुको दुई जोर पाउजुसमेत बरामद गरिएको छ।
बरामद गहनासहित पक्राउ परेका तामाङमाथि चोरीसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।