बाढी क्षेत्रमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।
त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भइरहेका बेला बाढीपछिको संक्रमणजन्य रोग नियन्त्रण तथा प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लेभल–१ फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो।
प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलका अनुसार फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध गराइएको छ। अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी), वार्ड, प्रयोगशाला तथा औषधिसहितका सेवा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था गरिएको छ।
बाढीका कारण पुल बग्दा त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रका बासिन्दालाई कठिनाइ भइरहेको र सामान्य स्वास्थ्य समस्या देखिए पनि उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था रहेकाले विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको पौडेलले बताए।
बाढीपछि सरुवा रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पतालले संक्रमण नियन्त्रणलाई प्राथमिकता दिएको छ। प्रदूषित पानी, शव तथा पशुचौपायाका कारण हैजा लगायतका रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक औषधि र विशेषज्ञ जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।
यस्तै, बाढीबाट प्रभावित व्यक्तिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्यालाई समेत अस्पतालले प्राथमिकतामा राखेको छ। मनोपरामर्शसहितको सेवा उपलब्ध गराउँदै प्रभावितको शारीरिकसँगै मानसिक स्वास्थ्य अवस्थाको पहिचान र उपचारमा जोड दिइने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार होल्डिङ सेन्टरमा फरक–फरक बस्तीका मानिस एकै ठाउँमा बस्दा संक्रमण फैलिन सक्ने भएकाले स्वास्थ्यकर्मीमार्फत सावधानी अपनाउन सचेत गराइएको छ।
यसैबीच, बाढीमा हराएका व्यक्तिको पहिचान तथा भेटिएका बेवारिसे शवको पहिचानका लागि फिल्ड अस्पताल परिसरबाट डीएनए नमुना सङ्कलन सेवा पनि सञ्चालनमा ल्याइएको छ। यसअघि हराएका व्यक्तिका परिवारले डीएनए नमुना दिन काठमाडौं पुग्नुपर्ने अवस्था रहेकामा अब विदुरमै सम्पर्क केन्द्र सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
बाढीमा परी परिवारका सदस्य हराइरहेको भए उनीहरूको पहिचानका लागि डीएनए नमुना उपलब्ध गराउन प्रहरीले सम्बन्धित परिवारलाई आग्रह गरेको छ।