गोरखामा दुई बस ठोक्किँदा चार जना घाइते, एकको अवस्था गम्भीर
गोरखामा दुई वटा बस आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गण्डकी गाउँपालिका–४ स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ नम्बरको बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनिलकुमार खड्काका अनुसार दुर्घटनामा घाइते चार जनामध्ये तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।
गम्भीर घाइते १० वर्षीय बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको एसपी खड्काले बताए। गोरखामा उपचाररत तीन जना घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।