देशका ७ वटै प्रदेशमा आज पनि अति भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आइतबार बिहान देशैभरी साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो ।
आइतबार दिउँसो भने देशैभरी साधारणतयादेखि पूर्णतया बदली हुने भएको छ । सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि अति भारी वर्षाको सम्भावना रहेको हो ।
आइतबार राति पनि मौसम साधारणतयादेखि पूर्णतया बदली हुने भएको छ ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सोही क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैमा महाशाखाले अनुरोध समेत गरेको छ ।
त्यस्तै, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई सेवामा समेत आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको हो ।