आईसीसी टी-२० विश्वकपको अन्तिम वार्मअप खेलमा भारत विजयी
काठमाडौं । नवौं संस्करणको आईसीसी टी–२० विश्वकपको अन्तिम वार्मअप खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको छ ।
शनिबार राति सम्पन्न भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको हो । उसका लागि ऋषभ पन्त र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेलेका छन्।
पन्तले ३२ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५३ रन बनाएका हुन्। त्यस्तै, पाण्ड्याले २३ बलमा ४ छक्का र २ चौकाको सहयोगमा अविजित ४० रनको योगदान दिएका छन्।
त्यस्तै, सूर्यकुमार यादवले ३१, कप्तान रोहित शर्माले २३ र शिवम दुबेले १४ रन जोडेका हुन्। बंगलादेशका लागि मेहदी हसन, शोरिफुल इस्लाम, तनवीर इस्लाम र महमुदुल्लाहले एक-एक विकेट लिएका थिए ।
१ सय ८३ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको बंगलादेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो। उसका लागि महमुदुल्लाहले ४०, शाकिवअल हसनले २८, तान्जिद हसनले १७ र तौहिद हृदयले १३ रन बनाएका थिए।
भारतका लागि शिवम दुबे, अर्शदीप सिंहले २/२ तथा जसप्रित बुहराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र अक्षर पटेलले १/१ विकेट लिएका हुन्। आइतबारदेखि शुरु भएको विश्वकपमा भारतले पहिलो खेल बुधबार आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।