नयाँ बजेट सन्तुलित छ, ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोछु: अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विगतका वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । नयाँ बजेट गठबन्धन सरकारको साझा कार्यक्रमलाई कार्यान्वयन गर्न ल्याइएको, बजेट पूर्वअन्तर मन्त्रालयसँगको छलफल गरिएको, निजी क्षेत्रको सुझाव र सरोकारलाई सम्बोधन गरिएको उहाँले बताउनुभयो ।
विगतका वर्षमा भन्दा पूँजीगत खर्चमा वृद्धि हुने गरी लक्ष्य तय गरिएको, लगानी योग्य रकमको उपलब्धता लगायतका कारणले ६ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको उहाँको दावी छ। लगानीमैत्री वातावरण बन्दै गएको, समग्र आर्थिक सुधार हुँदै गएका कारणले गर्दा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रयाप्त आधार बनेको उहाँले बताउनुभयो ।
बजेटको आकार महत्वाकांक्षी नभइ यथार्थ रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले मध्यकालीन खर्च संरचनाले तय गरेको सीमाका आधारमा नै प्रस्तुत गरिएको बताउनुभयो। बजेटको आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरिएको उहाँको कथन छ।
उहाँले भन्नुभयो-'बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ। आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पूँजीगत खर्च वृद्धि हुन्छ।'
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने सरकारको विश्वास रहेको उहाँको भनाइ छ। अर्थमन्त्री पुनले कृषि क्षेत्रलाई आधार वर्षका रुपमा लिंदै कृषि दशकको रुपमा अगाडि बढाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो।
कृषिमा निजी क्षेत्रलाईसमेत जोडेर लैजाने लक्ष्य निर्धारण गरिएको, सामाजिक न्यायमा आधारित रहेर नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै उहाँले राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनामा बजेटको अभाव हुन नदिने बताउनुभयो।
उहाँले भन्नुभयो,-'अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाइने, निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा आर्थिक केन्द्र निर्माण गरिने र नियमित दायित्वमा रहने कामका लागि अर्थमन्त्रालयमा केही बजेट राखिएको छ।'
कोभिड-१९ पछि मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारले लिएको ऋणको सावाँ ब्याज भुक्तानीका लागि बजेटमा आवश्यक प्रबन्ध गरिएको जानकारी दिंदै उहाँले यसमा सतर्क भने हुनैपर्ने स्पष्ट पार्नुभयो।
आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको मन्त्री पुनको भनाइ छ ।