युरोपियन च्याम्पियन्स लिगका उपाधि रियल मड्रिडले जित्यो
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।
शनिबार राति लण्डनस्थित वेम्ब्ली रंगशालामा भएको फाइनल खेलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औं च्याम्पियन्स लिग उपाधि हो । रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका हुन्। रियल मड्रिडका कार्भाजालले ७४ औंमिनेटमा शुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाएका छन् ।
डर्टमुण्ड सन् १९९७ मा पहिलो पटक च्याम्पियन बनेको डर्टमुण्ड उपाधि दोहोर्याउने अवसरबार वञ्चित भएको हो । यसअघि सन् २०१३ मा पनि डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनल खेलमा पुगेको थियो । तर बायर्न म्युनिखसँग पराजित हुन पुगेको हो।