आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई १२ रनले पराजित गर्दै क्यानाडाको शानदार जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा शुक्रबार राति क्यानाडाले ऐतिहासिक जित निकालेको छ ।
शुक्रबार राति सम्पन्न भएको समूह ‘ए’को खेलमा क्यानाडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो । टस जितेर शुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १ सय ३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउँदै क्यानाडासँग १२ रनको हार ब्यहोरेको छ ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाएका थिए। । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरेका छन् । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
आयरल्याण्डलाई सस्तैमा समेट्न क्यानडाका लागि जेरेमी गोर्डन, डिलोन हाइलिगरले समान २-२ विकेट हात पारे भने जुनेद सिद्धकी र साद बिन जाफरले १-१ विकेट लिएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्टोन अर्धशतक बनाउन १ रनले चुकेका थिए । सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै उनले ३ चौका र २ छक्का प्रहार गरेका हुन् । श्रेयस मोभ्भाले ३७, प्रगत सिंह १८ रन बनाउँदा एरोन जोन्सनले १४ रन जोडेका थिए ।
क्यानाडाविरुद्ध शुरुमा बलिङ गरेको आयरल्याण्डका लागि क्रेग यङ, ब्यारी म्याकार्थीले समान २-२ विकेट लिएका थिए भने मार्क अडेर र गेराथ डेलानीले १-१ विकेट हात पारेका छन् ।
समूह ‘ए’ मा रहेको क्यानाडाले उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटको पराजय भोगेको थियो । समूह ‘ए’मा अमेरिका २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ । भारत र पाकिस्तानसमेत रहेको यो समूहको जितलाई महत्वका साथ हेरिएको हो ।
भारत २ अंकसहित दोस्रो स्थानमा रहेको छ । सोही समूहमा पाकिस्तान र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् ।