विश्वकप फुटबल छनोट खेलमा आज नेपालले युएईसँग सामना गर्दै
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गतको छनोट खेलमा बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ।
सोही खेल नेपाली समय अनुसार बिहीबार राति पौने १० बजे साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा हुने भएको हो।
एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै काठमाडौंको दशरथ रंगशालालाई खेल गराउन अयोग्य जनाएपछि तटस्थ मैदानको रुपमा साउदी अरबियामा खेल हुन लागेको हो । नेपाल र यमनबीचको खेल पनि यहि रंगशालमा हुने भएको छ ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघिका ४ वटै खेलमा पराजय भोगेको हो । नेपाल युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै, नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।
समूह एचमा नेपालले ४ खेल खेलिसक्दा एक गोल पनि गर्न सकेको छैन । साउदी अरबियामा हुने २ खेल पछि नेपालका गोलकिपर किरण लिम्बु देशका लागि १ सय खेल खेल्ने कोशेढुंगा पार गर्ने भएका हुन् ।