आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज भारतले पाकिस्तानसँग सामना गर्दै
काठमाडौं । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार राति भारतले पाकिस्तानसँग सामना गर्ने भएको छ ।
समूह 'ए'अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने सोही खेल नेपाली समय अनुसार आइतबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएको छ।
यस खेललाई यस विश्वकपकै सबै भन्दा ठूलो खेल भनिएको हो। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको हो।
भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको हो । पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै, टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने-सामने भएका हुन्। जसमा भारतले ५ पटक जितेको छ ।
पाकिस्तानले भने एक पटक जितेको हो । त्यस्तै, एक खेल अनिर्णित बनेको थियो।