आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाको शानदार जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक अमेरिकाले आइतबार शानदार जित निकालेको छ।
आरोन जोन्स र एन्ड्रिज गौसको ऐतिहासिक साझेदारीमा क्यानाडामाथि घरेलु मैदानमा १४ बल खेल्न बाँकी हुँदा अमेरिकाले ७ विकेटको शानदार जित निकालेको हो । टस जितेर शुुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानाडाले दिएको १ सय ९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाउँदै भेट्टाएको थियो।
अमेरिकाका लागि आरोन जोन्सले २२ बलमा ५० रन बनाउँदै विश्वकपमा अमेरिकाका लागि थोरै बलमा अर्धशतकको रेकर्ड बनाएका छन् । उनले अर्धशतकका लागि १ चौका र ६ छक्का प्रहार गरेका हुन्। उनले नटआउट ४० बलमा १० छक्का र ४ चौका प्रहार गर्दै सर्वाधि ९४ रन बनाएका थिए।
अमेरिकाका अर्का ब्याट्सम्यान एन्ड्रिज गौसले ३९ बलमा अर्धशतक पूरा गरेका छन्। उनले ६ चौका र २ छक्काको मदतमा ५३ रन बनाएका हुन्। उनले ४६ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाएर आउट भएका थिए । उनले आरोन जोन्ससँग ५८ बलमा १ सय ३१ रनको साभेदारी गरेका हुन्।
ओपनर स्टीवन टेलरलाई दोस्रो बलमा शून्यमै गुमाएको अमेरिकाको खराब शुरुवात गरेको थियो। दोस्रो विकेटको रुपमा अमेरिकाले मोनांक पटेललाई गुमाएको हो। उनले १६ बलमा २ चौकाको मद्दतमा १६ रन मात्र जोडेका थिए। आरोन र एन्ड्रिजको साझेदारीले अमेरिकाले ब्याटिङ लाइनलाई उकासेको थियो।
अमेरिकाविरुद्ध खराब बलिङ गरेको क्यानाडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक-एक विकेट लिएका थिए।