आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्डसलाई २५ रनले पराजित गर्दै बंगलादेशको शानदार जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्डसलाई २५ रनले पराजित गर्दै बंगलादेश विजयी भएको छ।
बिहीबार राति भएको खेलमा सोही जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको हो। समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै ४ अंक बनाएको छ।
नेदरल्याण्डसले भने मात्र २ अंक बनाएको हो। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एक-एक अंक जोडेका हुन्।
बिहीबार राति बंगलादेशले दिएको १ सय ६० रनको चुनौती पछ्याएको नेदरल्याण्डस २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३४ रनमा समेटिएको हो। शुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरेका छन्। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाएका हुन्।
त्यस्तै, तान्जिद हसनले २६ बलमा ५ चौका र एक छक्कासहित ३४ रनको योगदान दिएका छन्। महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाएका हुन्।
नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले २-२ विकेट लिएका छन्। १ सय ६० रनको लक्ष्य पाएको नेदरल्याण्डसका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडेका हुन्। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाएका छन् ।
कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिएका हुन्। माइकल लेभिटले १८, आर्यन दत्तले १५ रन जोड्दा म्याक्स ओ डाउडले १२ रन बनाएका छन्।
बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट हात पारेका थिए । अब बंगलादेशले समूह चरणको अन्तिम खेल नेपालसँग खेल्ने भएको हो ।