फिफा विश्वकप फुटबल छनोट खेलमा युएईसँग नेपालको लज्जास्पद हार
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४–० ले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको युएईले दोस्रो हाफमा पनि दुई गोल थपेको छ । युएईका लागि रिब अब्दल्लाले दुई गोल गरेका हुन्। उनले खेलको १२ औं र १४ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, खेलको ५४ औं मिनेटमा अली सालेहले गोल गरेका छन् । युएईका लागि खेलको ७५ औं मिनेटमा हाजेम मोहम्मद अब्दुल्लाह अब्बासले गोल गरेका हुन्। घरेलु मैदानमा हुनुपर्ने सोही खेल दशरथ रंगशाला खेलका लागि योग्य नरहेका कारण (न्यूट्रल भेन्यू) साउदी अरबमा खेलाइएको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँगको पहिलो खेलमा ४–० ले पराजित भएको हो।
त्यस्तै, यमनसँग २–० ले पराजित भएको नेपाल बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले हारेको थियो । प्रतियोगितामा अहिलेसम्म नेपालले खेलका ५ खेलमा एक गोल पनि गर्न सकेको छैन । नेपालको पोष्टमा विपक्षी टोलीले भने १८ गोल गरेका हुन् । सोही समूहबाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ।
अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल खेल्ने भएको हो ।