आईसीसी टि-२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी टि-२० विश्वकप क्रिकेटमा २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
भारत र दक्षिण अफ्रिकाबीको फाइनल खेल शनिबार राति सवाँ ८ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुने भएको हो । दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दैभारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट निश्चित गरेको हो ।
भारतले १० वर्षपछि टी-२० विश्वकपको फाइनल खेल खेल्दैछ । यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दोस्रो सेमिफाइनलमा भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड १६.४ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा समेटिएको थियो । भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन् ।