साउदी किङ कपमा अल नासर फाइनलमा प्रवेश
काठमाडौं । साउदी किङ कपको फाइनलमा अल नासरले प्रवेश गरेको छ ।
बुधबार राति सम्पन्न भएको सेमिफाइनल खेलमा अल नासरले अल खालीजलाई ३–१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र साडियो मानेले एक गोल गरेका छन् । त्यस्तै, अल खालीजका फवाज टोराल्सले एक गोल फर्काएका थिए ।
खेलको १७औं मिनेटमा गोल गर्दै रोनाल्डोले अल नासरका लागि सुरुवाती गोल गरेका छन् । ३७औं मिनेटमा साडियो मानेले टोलीको अग्रतालाई दोब्बर बनाएका हुन् । त्यस्तै, ५७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको अग्रतालाई ३–० ले अघि बढाएका छन् । खेलको ८२औं मिनेटमा अल खालीजका टोराल्सले एक गोल फर्काएका हुन् ।
किङ कपको फाइनल खेल मे ३१ मा हुने भएको छ । जसमा अल नासर र अल हिलालबीच प्रतिस्पर्धा हुने भएको हो । अल हिलाल पहिलो सेमिफाइनल खेलमा अल इत्तिहादलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।