स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेशमा हुँदा नै जसपा फुट्यो, ७ जना सांसदले नयाँ दल दर्ता गर्दै
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)आइतबार विभाजित भएको छ ।
पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दावी गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । यादव नेतृत्वको पार्टीसँग संघीय संसदमा १२ जना सांसद रहेका छन् । सोही दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका हुन् ।
गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो । विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा भएको समय यता राई नेतृत्वमा पार्टी विभाजन गर्न लागिएको हो ।
राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबै जना एमाले-माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट भएका थिए ।
अशोक राई, प्रदीप यादव र राजकिशोराई अध्यक्ष उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिनुभएको थियो ।पूर्वशिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले आयोग पुगिसक्नुभएको छ
जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले आयोगमा पुगिसकेको बताउनुभएको हो । नयाँ दल दर्ताका लागि निवेदन दिएको उहाँको भनाइ छ ।
विभाजन गरी बन्ने नयाँ दलको पक्षमा ७ जना सांसद रहेको उहाँले बताउनुभयो । अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु रहेका छन् । नेता राई आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगमा जानुभएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्रै राखिने जनाइएको छ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा हुनुहुन्छ । मन्त्री यादव अमेरिकाबाट अहिले कतार ट्रान्जिटमा रहनुभएको हो ।