आईपीएलमा आरसीबीलाई पराजित गर्दै राजस्थान विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ ।
बुधबार राति सम्पन्न भएको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएसँगै आरसीबी प्लेअफबाट बाहिरिएको हो । आरसीबीले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटाएको छ ।
राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा ८ चौका प्रहार गर्दै ४५ रन बनाएका हुन् । त्यस्तै, २६ बलको सामना गरेका रियान पराग २ चौका र २ छक्कासहित ३६ रन बनाएर पेभिलियन फर्किएका छन्।
टम कोहलर–क्याडमोर २०, धुव्र जुरेलले ८ रनको योगदान दिएका हुन् । सञ्जु सैमसनले १७ रन बनाउँदा शिमरोन हेटमायर २६ रन बनाएर आउट भएका छन् ।
आरसीबीका लागि मोहमद सिराजले ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिएका थिए । क्यामरुन ग्रीन, लोकी फर्ग्युसन र कर्ण शर्माको नाममा एक-एक विकेट रहेको छ ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ३३ रन बनाएका छन् ।
२४ बलको सामना गरेका कोहलीले ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, रजत पाटीदारले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाएका छन् । कप्तान फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाएका हुन् ।
ग्लेन म्यासवेल शून्य रनमा आउट भएका छन् । १७ बलको सामना गरेका महिपाल लोमरले २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएपछि आरसीबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको थियो ।
राजस्थानका लागि आवेश खानले ३ विकेट लिएका छन् । ४ ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर ३ विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले २ विकेट लिंदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विकेट रहेको छ ।
जितसँगै राजस्थानले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको हो । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको थियो ।
कोलकता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकतासँग फाइनल खेल्ने भएको छ।