आईपिएलमा कोलकताको शानदार, आज रोयल र गुजरातबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकता नाइट राइडर्सले २४ रनको शानदार जित निकालेको छ।
टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको कोलकताले दिएको १ सय ७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १ सय ४५ रनमा समेटिएको हो। सोही जितसँगै कोलकता १४ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ। मुम्बई भने ६ अंकसहित नवौं स्थानमा रहेको हो ।
शुरुमा ब्याटिङ गरेको कोलकताका ओपनर र चर्चित ब्याट्सम्यान चल्न सकेनन्। उसका लागि वेंकटेश अय्यरले बनाएको शानदार अर्धशतक नै जितका लागि पर्याप्त भएको हो। उनले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाएका थिए । मनिष पाण्डे ४३ रनमा आउट हुँदा अंकृष्न रघुवंशीले मात्र १३ रन जोडेका छन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
आईपिएल अन्तर्गत शनिबार रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटनबीच प्रतिस्पर्धा हुने भएको छ । सोही खेल शनिबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।