आईपीएलमा चेन्नईलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा प्रवेश
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) प्लेअफमा प्रवेश गरेको छ।
एम चिन्नास्वामी स्टेडियममा शनिबार राति सम्पन्न भएको खेलमा आरसीबीले चेन्नईलाई २७ रनले पराजित गरेको हो । आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्रै बनाएको छ ।
उसका लागि रचिन रवीन्द्रले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । ३७ बलको सामना गरेका रवीन्द्रले ५ चौका र ३ छक्काको मदतमा ६१ रन बनाएका हुन् । त्यस्तै, रवीन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाएका छन् ।
आरसीबीका यश दयाल २ र ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन, क्यमरुन ग्रिनले १-१ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।
उसका लागि कप्तान फाफ डु प्लेसिस अर्धशतक प्रहार गरेका थिए । ३९ बलको सामना गरेका डु प्लेसिसले ३ छक्का र ३ चौकाको मदतले ५४ रन बनाएका छन् । त्यस्तै, विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाएका हुन् ।
चेन्नईका लागि सार्दुल ठाकुरले २, मिचेल सेन्टनर र तुषार देशपाण्डेले १-१ विकेट लिएका छन् । योसँगै आरसीबी यस सिजनको आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।