आइसीसी टी-२० अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसीसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले आइतबार दोस्रो जित निकालेको छ।
पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न भएको दोस्रो खेलमा २७ रनले विजयी भएको हो । शुरुमा ब्याटिङ गरेको नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट हुँदा नेपाल २७ रनले विजयी भएको छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोड्दा कुशल भुर्तेलले २३ रन बनाएका हुन्। गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १ र अनिलकुमार शाह ४ रनमा आउट भएका छन्।
कुशल मल्लले मात्र २ रन जोडेका हुन् । सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२-१२ रन जोडेका छन् । पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
१ सय २४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर ३ विकेट हात पारेका हुन्। सोमपाल कामीले २ विकेट लिंदा रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एक-एक विकेट हात पारेका छन्।