टी-२० सिरिजको दोस्रो खेलमा आज वेस्ट इन्डिज 'ए' सँग नेपाल पराजित
काठमाडौं । टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको छ ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६० रन बनाएको हो। वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै, कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ र जोन्सन चार्लेजले ११ रन बनाएका हुन् ।
त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका हुन्। वेस्ट इन्डिज 'ए' को सोही जितपछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ ।
कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग ५ खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार खेल्ने भएको हो । यस सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।