क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी भएको छ । मूलपनी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।
यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।