नेपाली फुटबलको भविष्य जोडिएको खेल
विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको नेपालले मंगलबार लाओससँग उसको घरेलु मैदानमा दोस्रो लेग खेल्दैछ । यो खेलको नतिजासँग नेपाली फुटबलकै भविष्य जोडिएको छ । जित वा हारले नेपाली फुटबल कता जान्छ भन्ने संकेत गर्नेछ ।
पछिल्लो समय राष्ट्रिय टिमका अनुभवी खेलाडीहरु विदेश पलायन हुनु, घरेलु फुटबलको मेरुदण्ड मानिने लिग नियमित नहुनु अनि उमेर समूहका प्रतियोगिताहरु समेत नियमित नहुनुले नेपाली फुटबल संकट उन्मुख छ । त्यसका बाबजुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता/खेलहरु खेल्दै आएको छ ।
गत असारमा साफ च्याम्पियनसिप खेलेको नेपालले अहिले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको प्रारम्भिक चरण खेल्दैछ ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछ । त्यसको लागि नेपालले एसिया क्षेत्रको छनोटको पनि प्रारम्भिक चरण खेल्दैछ ।
प्रारम्भिक चरणमा एसियाका शीर्ष २६ बाहिर रहेका टिमहरुले खेलिरहेका छन्, जसमा नर्दन मारियाना आइल्याण्ड बाहेक २० टिमले होम एण्ड अवेका आधारमा दुई लेगको खेल खेलेपछि विजेता १० टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
त्यही चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको थियो । बिहीबार नेपालले घरेलु मैदानमा पहिलो लेग खेल्यो । एक गोलले पछि परेको अवस्थामा नेपालले पुनरागमन गर्दै खेल बराबरी गर्न सफल भयो । अञ्जन विष्टले गोल गरेर नेपालका लागि कीर्तिमानी १३औं गोल गर्ने सूचीमा हरि खड्का र निराजन रायमाजीसँगै आफूलाई उभ्याए । तर खेलको नजितासँग अञ्जन र टिम दुबै सन्तुष्ट भएनन् ।
अहिले नेपाली टिम लाओसमा छ र, भोलि लाओससँग उसकै मैदानमा दोस्रो लेगको खेल खेल्नेछ । त्यसमा विजेता बन्ने टोली एसिया छनोटको दोस्रो चरणमा पुग्नेछ ।