बुद्धकालिन समाज ( पाली त्रीपिटकको साक्ष्यमा) लाई फर्केर हेर्दा
नारायणप्रसाद सापकोटा
बाँकी भाग
पुर्व वैदिक कालमा गुण वा वर्णको आधारमा मानिसको बिभाजन थियो र यो पेशासङ्ग संबंधित भएकोले परिवर्तित पनि थियो।तर उत्तर वैदिककालमा आइपुग्दा वर्ण वा जाती व्यवस्था जन्ममा आधारित बनाइयो र अपरिवर्तित भयो । जसको फलस्वरूप पेशा पनि जन्मजात निश्चित भयो र यसमा बिहेवारी पनि एउटै पेशा अङाल्ने सङ्गमात्र गर्नाले जातिमा जडता थपियो र ठूलो र सानो अनि छुत र अछुत बनाइयो। बुद्दकालिन समाजमा आइपुग्दा जातिय सन्किर्णता चरममा पुगेको थियो। शुद्र वा चन्डाललाई चरम विभेद गरिन्थ्यो र यो सबै पुर्व जन्मको कर्मको फल भनेर मानसिकरुपमा बिरोध गर्न नसकिने बनाइएको थियो।बुद्धकालमा जाती जस्तै गोत्रलाई पनि महत्व दिइन्थ्यो। शाब्दिक अर्थ गाई जम्मा गर्नु वा पाल्नु गोत्रको अर्थ भएपनि कालान्तरमा यो शब्दले कुल वा वम्श भन्ने अर्थ ग्रहण गर्यो र यसले आफ्नो आदिपुरुष ऋषिको नामबाट आफुलाई चिनाउने प्रक्रिया सुरुभयो। बुद्धकालमा व्यक्तिको परिचयमा नाम सङ्गै गोत्रको उल्लेख गर्ने प्रचलन थियो।त्यो बेला हिन र उत्कृष्ट गरि दुई प्रकारका गोत्रको प्रचलन रहेको उल्लेख पाइन्छ, कौशिक र भारद्वाज बाहेक अन्य गोत्रलाई उत्कृष्ट मानिन्थ्यो। हिन गोत्र मान्ने आधार बुद्धको आलोचक भएर हो कि भन्ने केही आधार भटिन्छ। त्यो समयमा उच्चकुल र महाकुलको पनि उल्लेख छ। ब्राम्हण र क्षेत्रीय उच्च कुल र वैष्य सहितको महाकुलको उल्लेख छ। यो विभेद जातिगत श्रेष्ठता र आर्थिकसामाजिक आवस्यक्ता मा आधारित देखिन्छ।तर भिक्षु संघमा यो विभेद थिएन।बुद्धकालिन समयमा हिन / उत्कृष्ट जातिका उपभेद थिए।हिन जातिका चन्डालको सामाजिकआर्थिक अवस्था दयनीय थियो।बुद्धले सबैभन्दा बढी ब्राम्हणहरुको बिरोध गरेकाले ब्राह्मणनै सबैभन्दा बढी बुद्धका आलोचक थिए। उत्तर वैदिककालमा ब्रम्हण मात्र नभएर क्षेत्रीयहरुपनि धर्म र ज्ञानको बिषयमा चिन्तन सुरु गर्दै गएकाले समाजमा ब्राह्मणको प्रभुत्व कम भयो, यसलाई बुद्ध र उनका अनुयायीले पनि बढावा दिए।त्यही भएर पाली त्रिपिटक अठ्ठकथामा क्षेत्रीयलाई प्रथम स्थानमा यससपछी मात्रै ब्राह्मणको उल्लेख गरिएको छ।बुद्धको दृस्टीमा जाती गुणवाचक थियो र कर्मले मात्र कोहि ब्राह्मण वा शुद्र वा चन्डाल हुनेमा बिश्वास गर्थे। त्यसैले उनले जन्मजात प्राप्त हुने जाती व्यवस्थाको विरोध गरे।सत्य र धर्ममा आधारित व्यक्तिलाई शुद्ध निस्पाप ब्राम्हण मानेर सम्मान गरे।बुद्धले जातिवादको जति बिरोध गरेपनी यो घटेन बरु बढ्दै गयो।बुद्धको समयमा शुद्रको स्थान दयनीय थियो। यसमा बुद्धले पनि केही सुधार गर्न सकेनन र शुद्र स्वयं पनि शैक्षिक आर्थिकसामाजिकरुपमा कमजोर भएकोले निमुखा नै रहे। मनुस्मृती र पराशरस्मृतिले त शुद्रप्रती झन कठोर नियम लादेकाले शैक्षिक, आर्थिकसामाजिक सबै पक्षमा उनिहरु कमजोर नै रहे।
उत्तर वैदिककालमा आर्यहरुले सिन्धुघाटिको वरिपरिको क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गरेपछी त्यहाका रैथाने सैन्धवहरुको सस्कृती सङ्ग आर्य सस्कृती पनि घुलमिल भयो र मिश्रित सस्कृती विकास हुन पुग्यो, यो सस्कृती बुद्धकालिन समाजमा पनि प्रचलनमा थियो। त्यो बेला खाद्यान्नको प्रमुख स्रोत धान,पिँडालु, सखरखन्ड, जौ, हरियो सागपात, दूध, मह,माछा मासु र सुरापान नै थियो। बुद्धकाल आगाडी देखिनै यज्ञमा पशु बलि दिने र त्यो मासुसङ्ग सुरापान गर्ने प्रचलन थियो। मासुमा गौ माम्सको पनि प्रचलन रहेको उत्तर बैदिककालिन साहित्यमा उल्लेख पाइन्छ।
बुद्धकालिन समयमा केही रुखका पातलाई लाज ढाक्ने कपडाकोरुपमा प्रयोग गरिन्थ्यो भने कपासबाट कपडा बुन्ने प्रचलन सुरु भैसकेको भएतापनी पर्याप्त थिएन।पुरुषहरूको कम्मरमुनी छोप्न धोती जस्तो कपडा प्रयोग गर्थे भने टाउको छोप्न रुमाल जस्तो कपडा प्रयोग गर्थे। महिलाहरु पनि लुङ्गि र ब्लाउज जस्तो कपडा लगाउथे। भिक्षुहरुको लागि कपडाको थोरैमात्र विकल्प थियो। उनिहरु हुनेसम्म पुरानो कपडाले आफ्नो आवस्यकता पूरा गर्थे।दानमा जस्तो कपडा हात पर्छ, त्यसैले काम चलाउथे। त्यो समयमा महिला पुरुष दुबैले सुन र अन्य धातुको गहना प्रयोग गर्थे तर सुद्रलाई यो सुबिधा थिएन।मनोरन्जनको लागि नाचगान, बनभोज, जुवा खेल्ने र जनावर जुधाएर पनि मनोरञ्जन लिइन्थ्यो यो पनि भिक्षुहरुलाई वर्जित थियो। भिक्षुहरुलाई ठूलो स्वरले दात देखाएर हास्न मनाही थियो।बुद्धकालमा जन्म, उपनयन, बिबाह र मृत्यु सस्कार गरिन्थ्यो। अठ्ठकथामा अन्नप्रासन, चुडाकर्म र कर्णभेद को पनि उल्लेख छ। सोर्ह सस्कार बुद्धकाल पछिको हो कि भन्ने अनुमान छ। बच्चा जन्मेको पाचौं दिनमा नामाकरण सस्कार गरिन्थ्यो, बच्चा ७ बर्षको भएपछी उपनयन गरिथ्यो।मागी बिबाह कै धेरै प्रचलन भएपनि प्रेम विवाह र राक्षसी बिबाहको पनि प्रचलन थियो। त्यो बेला बिबाहको लागि कन्या किन्ने प्रचलन पनि थियो।त्यस्तै बिबाहमा दाइजो दिने र बाल बिबाह पनि प्रचलनमा थियो। त्यो समयमा लासलाई पोल्ने गाड्ने वा टुक्रा गरेर फाल्ने चलन थियो। धनिमानिको लाशलाई अनिवार्य अग्नि दाहसंस्कार गरिन्थ्यो र मलामिलाई खाना खुवाउने चलन पनि थियो।बुद्धकालिन समयमा शिष्टाचारलाई ख्याल गरेर फरक फरक सम्बोधन गर्ने गरेको उदाहरण पाइन्छ। जस्तै बुद्धलाई भगवन वा तथागत, राजालाई देव, भिक्षुले एक अर्कालाई बोलाउदा आवुसो भन्थे भने जेष्ठ भिक्षुलाई भन्ते भनेर सम्बोधन गर्थे।साथै गोत्रद्वारा पनि सम्बोधन गरिन्थ्यो।यो समयमा देवताप्रती आस्था राखिन्थ्यो र देवताहरु बुद्धसङ्ग वार्तालाप गर्ने र आफ्ना जिज्ञासा मेट्न वारम्बार भेट्ने र यसरी भेट्ने देवतामा इन्द्र प्रमुख थिए। त्यस्तै बुद्धकालिन समयमा छालाका थैलालाई सामान राख्ने प्रयोजनमा प्रयोग गरिन्थ्यो। धातुको प्रचलन सर्वसुलभ भैनसकेकोले माटाका भाडाको व्यापक प्रचलन थियो। थोरै मात्र कृषि औजार र खाना पकाउने भाडा कास र फलामबाट बनाइन्थ्यो। सवारी साधनकोरुपमा रथ, रथ तान्न घोडा, हात्तिको प्रयोग हुन्थ्यो।लडाईमा प्रयोग गरिने रथ छरितो दुई तीन जना बस्न मिल्ने हुन्थ्यो भने राजपरिवार को सवारीको लागि प्रयोग गरिने रथ साजसज्जा सहितको ठूलो हुन्थ्यो। नदि वारपार गर्न डुङ्गाको प्रयोग हुन्थ्यो।
वैदिककालको सुरुवाती अवस्थामा समाजमा महिलाको स्थान उच्च थियो तर वैदिककालको अन्त्यतिर आइपुग्दा महिलाको स्थान खस्कदै गयो भने बुद्धकालिन समयमा त महिलाहरु सन्तान उत्पादन गर्ने र घरधन्दामा सिमित पुरुषको सहयोगिकोरुपमा रहन पुगे।त्यो समयमा सम्युक्त परिवार प्रथा प्रचलनमा थियो र घरमुली घरको जेठो पुरुष हुन्थ्यो। पैत्रिक सम्पत्तिमा बाबू पछि छोराको हक हुन्थ्यो।छोरा रहेनछ भनेमात्र छोरिले पैत्रिक सम्पती पाउथे। समाजमा छोरा र छोरी बिचमा विभेद थियो। छोरा जन्मदा हर्षाबढाई गर्ने र छोरी जन्मदा खिन्नता प्रकट गर्ने आम प्रचलन थियो।महिलाहरुलाई "द्विअङ्गुलप्रग्या" भनेर पुरुषको तुलनामा कम बौद्धिक मानिन्थ्यो।मैथुनको ईच्छा र सन्तानोत्पतिबाट महिला कहिल्यै तृप्त हुदैनन र अतृप्तनै मर्छन भन्ने लोकमान्यताले पनि उनिहरुलाई दोस्रो दर्जाको मानेको प्रष्ट हुन्छ।तत्कालीन समाजमा बहुपती प्रथा प्रचलनमा थियो । यौन सन्तुष्टिको लागि श्रीमती बाहिर पनि सम्बन्ध हुने उल्लेख पाइन्छ।राजा र धनिमानिमा बहु पत्नी र गणिका सङ्गको सम्बन्धलाई सामान्य मानिन्थ्यो। बुद्धकालिन समयमा गणिका वा नगरबधुको प्रचलन थियो । सर्वाङ्ग सुन्दरीलाई सबैले उपभोग गर्न पाउने गरि नगरबधु वा गणिका बनाइन्थ्यो। कतिपय अवस्थामा गणिकाको लागि राजाहरु र राजकुमारहरु बिचमा झैझगडा समेत हुन्थ्यो। आफ्नी छोरीलाई गणिका बनाउनु भन्दा प्रव्रजित वा भिक्षुणी बनाउन रुचि राख्थे। रत्यो बेलाका प्रख्यात नगारबधुमा बैशालिकी आम्रपाली, राजगृहकी सालवती, उज्ज्वैनकी पद्द्मावती, काशिकी अड्ढकासी आदि प्रख्यात थिए।गणिकाहरु आफ्नो पेशाबाट वाक्क भएपछी भिक्षुणी बन्दथे।
वैदिककालमा आर्यहरुले सैन्धव असुरहरुलाई युद्धमा पराजित गरेपछी आर्यहरुले असुरहरुलाई दासकोरुपमा प्रयोग गरे, जो वास्तुकला र सभ्यतामा आर्यभन्दा उत्कृष्ट थिए। जो दास बन्न मान्दैनथे, उनिहरुलाई मृत्युदण्ड दिन्थे।युद्धमा हारेका सैनिकलाई पनि दास बनाइन्थ्यो। बुद्धकालमा आइपुग्दा यो प्रचलन अझ व्यापक हुनपुग्यो। त्यो बेला दासदासी किनबेच हुन्थ्यो।दासदासिबाट जन्मेका सन्तान मालिकका सम्पती मानिन्थ्यो।सायद यहि प्रचलनको निरन्तरता होला, पहिले मध्यपूर्वका शेखहरुले अफ्रिकीहरुको किनबेच सुरुगरेर युरोपेलीहरुमा यो परम्परा हस्तान्तरण गरेका।बुद्धले आफ्ना दासदासिलाई मालिकले मानवोचित व्यवहार गर्नुपर्ने भनेर केही सुधार सहित दास प्रथाको निरन्तरता कै कुरा गरेका छन।मालिक खुसिहुदा दासदासिलाई स्वतन्त्रता दिन्थे, जुन दासदासिको जीवनको सर्वोत्कृष्ट खुसी मानिन्थ्यो।
बुद्धकालिन समयको आजीविकाको मुख्य पेशा कृषि थियो। शुद्र बाहेकका अन्य सबैले यहि पेशा अपनाउथे। कृषिकार्यको लागि हलो, कुटो कोदालो र हसिया किसानका स्थायी साथी थिए। त्यो बेला जङ्गलमा आफै उम्रेको धानलाई नीवार भनिन्थ्यो, यो साधु सन्यासिको भोजन हुन्थ्यो।त्यसबेला शाली र ब्रीही जातको धानको खेती गरिन्थ्यो। शाली धानको चामल मसिनो र बास्नादार हुन्थ्यो, जुन धनिमानिको भोजन हुन्थ्यो भने ब्रीही धानको चामल मोटो हुन्थ्यो, यो सर्वसाधारणले उपभोग गर्थे। यसबाहेक जौ, गहुँ, कागुनो, कोदो र वरक (केराउ) को खेती गरिन्थ्यो।गाई भैंसी, भेडाबाख्रा पाल्ने चलन थियो। कृषि कर्मको लागि मौसमी खेतिको साथै केही सिचाईको पनि प्रवन्ध भएको थियो।कहिलेकाही पानी नपरेर खडेरी लाग्दा किसानहरु मारमा पर्थे, त्यस्तो बेला भिक्षुहरुले पनि भिक्षा पाउन कठिन हुन्थ्यो।किसान पृष्ठभुमि बाट आएका भिक्षु सुमङग्लले कृषि औजारबाट छुटकारा पाएकोमा हर्ष व्यक्त गरेबाट कृषि कर्मको दुख प्रष्ट हुन्छ। अन्न माटाको भाडा वा भकारीमा राखिन्थ्यो भने अन्न कुटपिस गर्न ढुङ्गाको ओखल र काठको मुसलको प्रयोग गरिन्थ्यो।शाक्य र कोलिय राज्यको बिचमा रोहिणी नदि थियो, त्यो नदिको पानीको लागि शाक्य र कोलिय बिचमा बारम्बार झैझगडा र युद्ध हुन्थ्यो।मानव सभ्यताको सुरुवात देखिनै सोझा पशु मानिसको साथिकोरुपमा रहदै आएका थिए, यहि परम्परा बुद्धकालिन समयमा पनि थियो। पशुको बहु उपयोग मानिसले जानिसकेका थिए। गाईको दूध, दहि, मोहि, नौनी र घिउलाई पन्चगोरस भनिन्थ्यो जुन बल बुद्शी वीर्यबर्धक मानिन्थ्यो भने पशुपालन कृषिको सहयोगी पेशाकोरुपमा लिइन्थ्यो।त्यसबेला ठूलो संख्या मा गाई पाल्ने गरेको कुरा सुत्तनिपातको धनियसुत्तमा उल्लेख पाइन्छ, जसानुसार विदेहको उत्तरतर्फ रहेको पर्वतराष्ट राज्यको धम्मकोरण्ड नगरका श्रेष्टिपुत्र थिए। उनिसङ्ग ३० हजार गाई थिए, त्यसमा २७ हजार गाई दुहुना थिए। पशुपालनको सजिलोका लागि अर्धस्थायी बसोवास गर्दथे, जहाँ घाँस र पानीको उपलब्धता थियो त्यही बस्दथे। त्यो बेला गाईको अतिरिक्त भैंसी, भेडाबाख्रा, सुँगुर आदि पालिन्थ्यो।जीविकोपार्जन लागि त्यो समयमा व्यापार गरिन्थ्यो र खेतीपाती, पशुधन, नोकरचाकर, बन्धुबान्धब र स्त्री हुनु सम्पन्नताको प्रतीक मानिन्थ्यो।मोति, मणि, मुगा र सुनचाँदी आदिको व्यापार गरिन्थ्यो साथै खाद्यान्न र पशुधनको पनि व्यापार हुन्थ्यो। ठुला व्यापारीलाई श्रेष्ठी भनिन्थ्यो। र हरेक राज्यमा एउटा ठूलो श्रेष्ठी राख्ने प्रयास हुन्थ्यो।त्योबेला अन्तरदेशीय व्यापारको पनि प्रचलन थियो, मित्रराष्ट्र सङ्ग सम्बन्ध सुमधुर बनाउन कर छुट दिने चलन पनि थियो।व्यापारको क्रममा लुटपाट पनि हुनेहुदा समुहमा लामो यात्रा गर्ने र हतियारसहित जाने गर्दथे। ऋण लिने दिने र तमसुक गर्ने प्रचलन थियो। ऋण तिर्न नसक्दा छोराछोरी लाई साहुलाई बुझाउनु पर्थ्यो।बुद्धकालिन समयमा सिल्प व्यवसाय अर्को महत्वपूर्ण कार्य थियो। सीप बिनाको व्यक्तिले बिबाहको लागि कन्या पाउदैनथ्यो त्यसकारण सीप सिक्नु अनिवार्य मानिन्थ्यो। सीप हिन र उत्कृष्ट गरि दुई प्रकारका हुन्थे। चर्पी र शहर बजार सफा गर्ने हिन सीप मानिन्थ्यो भने कृषि, वाणिज्य र पशुपालनलाई उत्कृष्ट सीप मानिन्थ्यो । समाजमा त्यो बेला धेरै प्रकारका सिपहरु प्रचलनमा थिए, जस्तै गणना गर्ने, ज्योतिषशास्त्र ,गहना बनाउने, भाडावर्तन बनाउने, सिकर्मी, चर्मकार, चित्रकार, सिन्धु घाँटी वरिपरिका घोडा रअस्वारोही ज्यादै प्रतिभावान मानिन्थे आदि आदि। सहज जीवनयापनको लागि कुनै न कुनै सीप अनिवार्य मानिन्थ्यो।
पूर्ववैदिक र उत्तर वैदिककाललै गुरुकुल परम्परा बुद्धकालिन समयमा पनि प्रचलनमा थियो। त्यो बेला शिक्षाको केन्द्रकोरुपमा गान्धारको तक्षशिला, मथुरा, वाराणसी र मगधको राजधानी पाटलिपुत्र प्रसिद्ध थिए।त्यस्तै नालन्दा, ओदन्तपुरी, विक्रमशिला आदि प्रसिद्ध बौद्ध शिक्षाकेन्द्र थिए। त्यो बेला विहार, संघआदिमा पनि शिक्षा दिइन्थ्यो । वेद, उपनिषद् , धर्मशास्त्र, नीतिशास्त्र, व्याकरण, चिकित्साशास्त्र र जडिबुटी सम्बन्धी ज्ञान, आध्यात्मिक ज्ञानको साथै शिल्प र व्यबहारिक ज्ञान दिइन्थ्यो। गुरुकुलमा ७ बर्ष देखि २० बर्ष उमेर सम्मका किशोरलाई शिक्षा दिइन्थ्यो। स्रुतिस्मृती परम्परा बाट सुरुभएको शिक्षण प्रकृया लिपि विकास सङ्गै अगाडि बढेको थियो।त्यसबेला गुरुकुलमा पुरुषले शिक्षा दिने आम प्रचलन भएपनी केही महिलाहरु पनि शिक्षा दिने कार्यमा लागेको उदाहरण कामण्ड नामक स्थानकी वेरहच्चानी गोत्रीय ब्राम्हणिको छ।पुरुष मात्र पण्डित, ज्ञानि र मेधावी हुदैनन, स्त्रीहरुपनि पण्डिता, सूक्ष्म अर्थको विचार गर्न सक्ने र प्रत्युत्पनमतिका हुन्छन भन्नेकुरा त्रीपिटकमा उल्लेख छ।बुद्धले आफ्ना शिष्यहरुलाई चावार्क शिक्षा पढ्नबाट रोकेका थिए। त्यो समयमा सामान्यत धनिमानी ब्राह्मण क्षेत्रीयका छोराहरुलेनै शिक्षा लिन्थे। त्यो बेला बिद्यार्थी दुई प्रकारका हुन्थे, राजकुमार र धनिमानिका छोराले गुरुलाई शुल्क बुझाएर पढ्दथे। तिनिहरुले गुरुकुलमा काम गर्नु पर्दैनथ्यो तर शुल्क बुझाउन नस्क्ने बिद्यार्थीले दिउँसो गुरुकुलमा काम गर्नुपर्थ्यो र राती पढ्थे। पढाइ सकिएपछि गुरु दक्षिणा दिनुपर्थ्यो भन्ने उदाहरण द्रोणाचार्यले एकलव्य सङ्ग मागेको गुरु दक्षिणा र अङ्गुलिमालको प्रसङ्गबाट प्रष्ट हुन्छ। बुद्धकालिन समयमा शारीरिक र मानसिक रोगको चर्चा गरेता पनि मानसिक रोगको उपचार पद्धति विकास नभैसकेको अनुमान मानसिक रोग लागेकाले क्षणभरपनि आरोग्यता अनुभव गर्न सक्दैनन भन्ने उल्लेखभएबाट प्रष्ट हुन्छ।प्लेग, कुष्टरोग,बिफर, घाउ खटिरा, आखाको रोग, वात रोग, रगतमासी आदि रोगको चर्चा त्यसबेला भएको थियो। लगातार छ बर्ष सम्म निराहार र अल्पहारको कारण बुद्धलाई उदरवायु कुपित भएको र गृहस्थले दिएको राम्रो खानेकुराले उनको यो समस्या कम भएको तर कहिलेकाही मरणान्तक पीडा दिने गरेको प्रसङ्ग उल्लेख छ। बुद्धको जीवनको अन्तिम दिनमा मल्ल राज्यको पावा नगरका चुन्द सुनारले दिएको भोजन गरेपछि रगतमासी परेर पेट बाउडिएर असह्य पिडाले ८० बर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए।
त्यो बेला अरु औषधि नपाउदा गहुँतलाई औषधिकोरुपमा प्रयोग गरिन्थ्यो। त्यो बेला बिषालु सर्पको डसाईको कारण पनि मानिसको मृत्यु हुन्थ्यो। बीस झार्न वैद्यहरु माहिर मानिन्थे। उनिहएउ जडिबुटीको प्रयोगबाट बिषको प्रभव कम गर्ने र वमन, विरेचन (पखाला )आदिको प्रयोग पनि गर्दथे। ट्युमर, हातिपाइले, क्षयरोग र छारेरोगलाई त्यो समयमा कडा र निको नहुने रोग भनिन्थ्यो। उपचार पाउने आशाले भिक्षु बन्ने र रोग निको भएपछी गृहस्थिमा फर्कने गरेकाले बुद्धले पाँच प्रकारका महारोग रागेकालाई प्रव्रजित नगर्ने नियम बनाएका थिए। राजगृहकी गणिकाn] अनिच्छित पुत्र पैदा गरेर झाडिमा फालेको बच्चा राजकुमार अभयले संरक्षकत्व प्रदान गरेको जीवक तक्षशिलाबाट आयुर्वेद र शल्यचिकित्सामा पारङ्गत भएको र मगध नरेश बिम्बिसारको भगन्दर(फिस्टुला) र बुद्ध लगायतको सफल उपचार गरेको प्रसङ्ग त्रीपिटकमा छ। इपु २२०० बर्ष अगाडि नै सिन्धुघाटिको वरिपरि सैन्धव सभ्यतामा ढुङा माटो काठ आदिबाट बनेका दरवार र विहार निआण भैसकेको उत्खनन् बाट प्रष्ट भएको थियो, त्यही परम्परा बुद्धकालमा पनि आइपुगेकोले वास्तुशास्त्र र वास्तुकलाको राम्रो विकास भएको र नौ तले दरवार बनेको त्रीपिटकमा उल्लेख छ।गरिवहरुको बसोबासको लागि तृणकुती निर्माण गर्ने चलन देखिन्छ। इट्टा बनाउने र घर छाउन खए वा झिगटिको प्रयोग हुन्थ्यो।मगध राज्यमा काष्ठगोअड्डाको व्यवस्था थियो, जसले आगलागीबाट प्रभावित लाई घर बनाउन काठ उपलब्ध गराउथ्यो।त्यो बेला शिखर शैलिमा घरहरू बनाइन्थे। घरका भित्ताहरुमा विभिन्न चित्र बनाइन्थे तर भिक्षु बस्ने ठाउँमा त्यस्तो चित्र बनाउन मनाही थियो। बुद्धकालिन समयमा आगो उत्पन्न गर्न दर्शनढुङ्गालाई एक अर्कामा घर्षण गराइन्थ्यो। आगो जोगाउन हरेक घरको बाहिर अग्निशाला बनाइएको हुन्थ्यो। यसैबाट कहिलेकाही आगलागी पनि हुन्थ्यो।
समग्रमा पुस्तकमा उल्लेखित जानकारी गहन सघन छन। लेखक उच्च सम्मानका पात्र छन। ..... अस्तु।