चार दिनको अन्तरमा तीन ठाउँमा भएका दुर्घटनाले लमजुङका सडक अवस्था र सवारी सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।
पछिल्ला केही दिनयता लमजुङ जिल्लामा एकपछि अर्को सवारी दुर्घटनाका घटनाले लमजुङको जनजीवन त्रसित बनेको छ। जिल्लाका विभिन्न स्थानमा भएका सडक घटनाले लमजुङका सडकको अवस्था र सवारी चालकको सावधानीप्रति गम्भीर प्रश्न उठाएको छ।
यहाँका सडकमा भइरहेका दुर्घटनाको शृङ्खलाले स्थानीय प्रशासन, सडक विभाग र ट्राफिक प्रहरीले तत्काल दुर्घटना रोक्ने कार्ययोजना ल्याउनुपर्ने अवस्था सिर्जना गरेको छ।
एकै दिन दुई दुर्घटना, तीनको मृत्यु
मिति २०८२ साल कार्तिक १९ गते लमजुङमा दुई फरक दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका थिए। पहिलो घटना: मर्स्याङ्दी गाउँपालिका-६ नाइँटेमा सिमेन्ट बोकेको बा ८ च ३५७१ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा दुईजनाको दुःखद मृत्यु भयो। दोस्रो घटना: सोही दिन बिहान क्होलासोथार गाउँपालिका- ९ बालुङफाँटमा बा २ ज ६२०६ नम्बरको बोलेरो जिपको ठक्करबाट २ वर्षीया बालिका मीरिमा तामाङको ज्यान गएको थियो।
बेसीसहरमा टिपर दुर्घटना, तीन घाइते
१९ गतेको घटनाको चार दिनपछि, मिति २०८२ साल कार्तिक २३ गते साँझ करिब ८ बजे, बेसीसहर नगरपालिका–९ दुईथोकमा अर्को दुःखद घटना घट्यो। मिदिमखोला हाईड्रोपावरतर्फबाट बेसीसहर आउँदै गरेको बा.प्र.०३–००१ क ०४६९ नम्बरको टिपर अनियन्त्रित भई करिब २०० मिटर तल खस्दा चालकसहित तीन जना घाइते भएका छन्।
घाइतेमध्ये सिन्धुपाल्चोक मेलम्ची-८ का २८ वर्षीय चालक काजी गिरीको हातखुट्टा र अनुहारमा चोट लागेको छ, भने रामेछाप खाँडादेवी - २ का २० वर्षीय सुमन बिक ढाडमा भित्री चोटसहित मध्यम अवस्थामा छन्। त्यसैगरी मकवानपुर राक्सीराङ गाउँपालिका - १ का ४२ वर्षीय सुनिल मोक्तान सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो। दुर्घटनाग्रस्त टिपर अझै स्थानमै रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ ।
लगातार भइरहेका यी घटनाहरूले लमजुङका सडक संरचना, सवारी साधनको मर्मत तथा चालकको सतर्कतामाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयवासीहरूले “सडक जीर्ण हुनु, भारी सवारीको बढी प्रयोग र नियन्त्रणको अभाव” दुर्घटनाको मुख्य कारण भएको बताएका छन्।
सडक दुर्घटनासङ्ग सम्बन्धित सरोकारवाला निकायहरु, सडक विभाग, स्थानीय प्रशासन र ट्राफिक प्रहरीले सहकार्य गर्दै सवारी सुरक्षाबारे ठोस योजना बनाउनु आवश्यक देखिन्छ। यदि तत्काल सुधार गरिएन भने लमजुङका सडकमा “दुर्घटना सामान्य” बन्ने खतरा बढ्दै गएको छ।