मोरक्कोविरुद्धको खेलमा नेयमार सहभागी नहुने
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले मोरक्कोविरुद्ध हुने फिफा विश्वकपको खेलमा स्टार फरवार्ड नेमार सहभागी नहुने बताएका छन् ।
पिँण्डुलाको चोटका कारण नेयमार हालसम्म टोलीसँग पूर्ण प्रशिक्षणमा फर्किन सकेका छैनन् । प्रशिक्षक एन्सेलोटीका अनुसार नेयमार अर्को साता टोलीसँग पुनः आबद्ध हुने सम्भावना छ । यद्यपि, त्यसले २० जुनमा हैटीविरुद्ध हुने ब्राजिलको दोस्रो समूहगत खेलमा उनको सहभागिता अझै अनिश्चित बनाएको छ ।
सञ्चारकर्मीसँग एन्सेलोटीले भनेका छन्, ‘नेयमार सकेसम्म छिटो मैदानमा फर्किन कडा मेहनत गरिरहेका छन् । हाम्रो अपेक्षा छ– उनी अर्को साता टोलीमा पुनः सामेल हुनेछन् । हामीले नेयमारलाई केवल उनको अद्वितीय प्राविधिक क्षमताका कारण मात्र नभई अनुभव र युवा खेलाडीहरूलाई प्रेरणा दिने क्षमताका कारण पनि टोलीमा समावेश गरेका हौँ ।’
लगातार चोटको समस्याका कारण नेयमारले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोलीका लागि कुनै खेल खेलेका छैनन् । तर, पनि एन्सेलोटीले विश्वकप टोलीमा राखेका छन् ।
हाल सान्तोस एफसीका फरवार्ड रहेका नेयमारले ब्राजिलका लागि १२८ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरेका छन्, जुन पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक हो । उनले यसअघि पेलेको ७७ गोलको कीर्तिमानलाई उछिनेका थिए ।
यो नेयमारको चौथो विश्वकप सहभागिता हो । उनले यसअघि २०१४, २०१८ र २०२२ संस्करणमा पनि ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।