पुनः चक्रव्यूहमै कांग्रेस
कांग्रेस केन्द्रीय समिति बैठकलाई नजिकबाट नियाल्दा दर्जनौं चुनौतीका बाबजुद देउवा कार्यकालमै पुनः एकपटक कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलमा प्रतिस्पर्धा हुने देखियो ।
पार्टी सुधारसँगै पार्टीलाई ‘लोकप्रिय’ बनाउन भन्दा देउवा समर्थक केन्द्रीय सदस्यहरूले महामन्त्री गगनमाथि ‘कटाक्ष’ गरेरै समय व्यतीत गरे ।
देउवा समूहले जनमत बढाउँदै लगेका ‘नयाँ र स्वतन्त्र शक्ति’ लाई भन्दा आफ्नै पार्टीका महामन्त्रीलाई चुनौतीका रूपमा लिंदै बैठकमा अनौठो रूपमा प्रस्तुत भए ।
उनीहरूका निम्ति गगन यति गह्रौं भए कि कांग्रेसमा गगन नभएको भए हिजोको वा भोलिको निर्वाचनमा कांग्रेसले ‘दुई तिहाइ’ नै ल्याउँथ्यो झैं प्रस्तुत भए ।
बैठकबाट भने देउवा भर्सेस गगन भन्ने नै सन्देश कार्यकर्ताको तहमा पुगेको छ । कांग्रेसमा विकसित यो मनोविज्ञानका पछाडि कुन-कुन विषयले काम गरेको छ, खोजी गरिनुपर्छ ।