निर्धारित भन्दाबढी भाडा यात्रुबाट असुल्ने ५ जना पक्राउ
निर्धारित भन्दाबढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका- ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौंको चन्द्रागिरी नगरपालिका- ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका- ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन छन् ।
काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएकाे छ ।
निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।