युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै
युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो ।
यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ । समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले हराएको इटलीले वेल्सलाई १-० ले पराजित गरेको थियो । अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराएको इटलीले क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई २-१ ले नै पराजित गरेको थियो ।
उता स्पेनले राम्रो सुरुआत गर्न नसके पनि पछिल्ला खेलहरुमा गोलको वर्षा गर्दै आएको छ । समूहको पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछि पोल्याण्डसँग १-१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गरेको स्पेनले अन्तिम १६ को ८ गोल थ्रिलर खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको थियो ।
क्वाटरफाइनलमा सपेनले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस पटक इटलीले गज्जबको प्रदर्शन गरिरहेको छ । इटली अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३२ खेलमा अपराजत छ । यस्तै पछिल्लो १३ खेलमा इटलीमा अपराजित छ । अष्ट्रिलया र बेल्जियमविरुद्ध गोल बेहोरेको इटलीले त्यसअघि लगातार ११ खेलमा गोल खाएको थिएन ।