१९७ ग्राम खैरो हेरोइनसहित धनुषामा दुई जना पक्राउ
धनुषामा प्रहरीले १९७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले सोमबार बिहान मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सबैला नगरपालिका–१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी–१३ का २७ वर्षीय सञ्जितकुमार राम रहेका छन्।
प्रहरीका अनुसार जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको थियो। तौल गर्दा उक्त पदार्थ १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले भारतको मधुवनीबाट लागूऔषध खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने कार्यमा उनीहरू संलग्न रहेको आशंका गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।