राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा राष्ट्रपति पौडेलले बाढीपछिको अवस्था, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा नागरिकलाई सम्बोधनमार्फत आश्वस्त पार्ने तयारी गरेका छन्।
त्यस्तै, गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक अवस्था तथा त्यसबाट प्राप्त उपलब्धिबारे पनि राष्ट्रपतिले धारणा राख्ने जनाइएको छ।
सोमबार नै नुवाकोट पुगेका राष्ट्रपति पौडेलले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनःस्थापनाबारे जानकारी लिएका थिए।
उनले विदुर नगरपालिका–२ स्थित कभर्ड हलमा रहेको होल्डिङ सेन्टरको अवलोकन गरी रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकसँग अन्तरक्रियासमेत गरेका थिए। प्रभावित नागरिकले बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम अझ तीव्र बनाउन सरकार र सहयोगदातासँग आग्रह गरेका थिए।