ब्रेक थ्रू नभएसम्म जलविद्युत् आयोजनाका सुरुङमा उद्धार नरोकिने
नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य तीव्र पारिएको बताए। सरकारले काम रोक्ने निर्णय नगरेसम्म सुरुङमा निरन्तर खोजी गरिने उनले स्पष्ट पारे।
सेनाका अनुसार प्रभावित आयोजनाका सुरुङमा करिब १२१ जना स्वदेशी तथा विदेशी नागरिक फसेको अनुमान गरिएको छ। रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ लगायत आयोजनामा विभिन्न टोली तथा उपकरण परिचालन गरी खोजी भइरहेको छ।
त्रिशूली–३ ‘बी’मा अडिट–२ बाट सेना सुरुङभित्र प्रवेश गरी अडिट–१ बाट निस्किएको तथा एक्साभेटरलगायत उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको थापाले जानकारी दिए। चिलिमेमा संयुक्त टोलीले उपकरणको सहायतामा लेदो हटाउने तथा माथिल्लो त्रिशूली–१ मा थप खोजी भइरहेको उनले बताए।
सेनाले सुरुङभित्र बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा पसेको हुनसक्ने अनुमान गरेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले भने सुरुङ तथा आयोजनामा सम्पर्कविहीन भएकाहरूको संख्या सेनाको भन्दा धेरै रहेको जनाएको छ। इप्पानका अनुसार माथिल्लो त्रिशूली–१ का ५७६ जना सम्पर्कविहीन छन्, जसमध्ये ३०० भन्दा बढी सुरुङभित्र फसेको अनुमान गरिएको छ।
भदौ १० गतेको बाढीपछि आयोजनाका विभिन्न क्षेत्रबाट २५४ जनाको उद्धार भइसकेको इप्पानले जनाएको छ। २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना निर्माणको अन्तिम चरणमा थियो।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’का ४२ जनामध्ये ३५ जना सुरुङभित्र रहेको बताइएको छ। उद्धार टोली मुख्य सुरुङसम्म पुगे पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङमार्फत प्रवेशमार्ग फराकिलो पार्ने काम भइरहेको छ।
लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा ४२ जना फसेको बताइएको छ भने सुरुङबाहिर रहेका १९ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’का २१३ जना कर्मचारी, श्रमिक तथा इन्जिनियर सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
चिलिमे जलविद्युत् आयोजनाको भूमिगत सुरुङ तथा विद्युत्गृहमा आठ जना फसेका थिए। रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन्। यस्तै, रसुवा भोटेकोशी, मैलुङ खोला, त्रिशूली जलविद्युत्, देवीघाट, मिडिल त्रिशूली, त्रिशूली–३ ‘बी’ हब सबस्टेसन, चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र रसुवा वितरण केन्द्रमा समेत केही व्यक्ति सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।