मैले एक महान साथी गुमाएँ : पेले
(काठमाडौँ) फुटबलका हस्ती पेलेले अर्का हस्ती डियगो म्याराडोनाको निधनमा दु:ख व्यक्त गरेका छन् । पेलेले आफूले ‘महान साथी’ गुमाएको बताएका छन् । हृदयघातका कारण म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
पेले र म्याराडोना दुवैलाई इतिहासकै महान फुटबल खेलाडीका रुपमा लिइन्छ ।
८० वर्षीय पेलेले म्याराडोनाप्रति श्रद्धाञ्जली दिँदै ट्विटमा लेखेका छन्, ‘मैले एक जना महान साथी गुमाएँ, विश्वले एक महान साथी ।’ पेलेले अगाडि लेखेका छन्, ‘अझै पनि धेरै कुरा भन्न बाँकी नै छन्, तर अहिलेलाई भगवानले उनको परिवारलाई धैऱ्यधारण गर्ने शक्ति प्रदान गरून् । मलाई आशा छ एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीन पटक विश्वकपको उपाधि जिताएका थिए । उनी ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले ९२ खेलमा ब्राजिलका लागि ७७ गोल गरेका छन् ।
सन् २००० मा फिफाले म्याराडोना र पेले दुवैलाई ‘शताब्दी खेलाडी’ घोषणा गरेको थियो ।