स्वर्णको लागि नेपाल र भारत भिड्ने
(पोखरा) नेपाली महिला ह्यान्डबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलले पराजित गर्दै स्वर्ण पदकका लागि भारतसँगको भेट पक्का गरेको हो।
पहिलो हाफमा ३ गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै नेपाली महिला टोलीले पाकिस्तानलाई १ गोल अन्तरले पराजित ग-यो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलको पहिलो हाफमा ८–११ ले पछि परेको अवस्था उल्ट्याउँदै २२–२१ गोलको नतिजा निकाल्यो। पाकिस्तानले पहिलो हाफमा नेपाललाई निकै दबाबमा राखेको थियो। उसले ५ गोल फ्रि पोस्टमा हिर्काएका थियो।
खेलाडी परिवर्तन गर्ने क्रममा गोलकिपर ढिलो गरी पोस्ट सम्हाल्न नआइपुग्दै पाकिस्तानी खेलाडीले गोल गरेपछि नेपाल पहिलो हाफमा दबावपूर्ण अवस्थामा थियो। खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन्।
महिला ह्यान्डबलको फाइनल आइतबार हुनेछ।
शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोलको पराजित गरी फाइनल पुग्यो। भारतका लागि उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे। बंगलादेश र पाकिस्तान आइतबार कांस्य पदकका लागि खेल्नेछन्। १२ औं संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण र बंगलादेश रजत पदक विजेता हुन्।