६० करोडको चम्किला बत्ती तिहार झिलिमिली पार्न आयात गरिँदै
(काठमाडौं) तिहार सुरु हुनै लाग्दा इलेक्ट्रिक पसलहरुमा ग्राहकको चहलपहल बढ्न थालेको छ । यो पर्वमा विभिन्न प्रकारका झिलमिली बत्तीहरुको ब्यापार फस्टाउँछ । लोडसेडिङ हटेपछि त झन् शहरका हरेकजसो घरमा झिलिमिली बत्तीले तिहारलाई स्वागत गर्ने गरिएको छ ।
तिहारमा उच्च खपत हुने भएता पनि झिलिमिली बत्ती नेपालमा उत्पादन हुँदैन । यसको आयातमा नेपालबाट करोडौं रकम विदेशिन्छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिँदैछ ।
बजारमा यस्ता बत्तीको माग सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ । सडकपेटीमै पनि झिलीमिली बत्ती बेच्नेहरु भेटिन्छन् ।
महासंघका उपाध्यक्ष देवकोटाका अनुसार थुप्रै होलसेलरहरुले तिहारका लागि बत्ती झिकाएका छन् । कतिको बत्ती आइसके भने कति भन्सार छुट्ने क्रममा छन् ।
‘झिलिमिली बत्ती तिहारको समयमा अत्यधिक बिक्री हुन्छ । अन्य चाडपर्व र बिहेको सिजनमा थोरै–थोरै विक्री हुन्छ,’ देवकोटाले भने ।
तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाट आयात हुन्छन् ।
तिहारलाई लक्षित गरी व्यवसायीले झण्डै २–३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए । त्यसअनुरुप केही दिनयता दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । यो समयमा साधारण बल्बको बिक्री पनि दुई गुणाले बढ्ने गरेको व्यवसायी बताउँछन् ।
बजारमा फरक–फरक खालका झिलिमिली बत्तीहरु फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा ५० सयदेखि १५–२० हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेस मल लगायतको सजावट गर्न यसको अत्यधिक प्रयोग गर्छन् ।
पछिल्लो समयमा विभिन्न मूल्यका क्लब (डिस्को) तथा रोटर लाइटहरु पनि तिहारका लागि प्रयोग हुन थालेका छन् । यस्तै देवी–देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ । इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन् ।
यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समस्या समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यवसायी बताउँछन् । तर, एकपटक किनेपछि अरु वर्षमा त्यही प्रयोग गर्न सकिने भएकाले अब माग नबढ्ने उपाध्यक्ष देवकोटाको भनाइ छ ।