राहत कोषको रकम तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवास बनाउन धितालको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले बाढीपीडितका लागि राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्न बाध्य महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र आत्मसम्मान गम्भीर जोखिममा परेको बताइन्। उनले उद्धार र राहतसँगै प्रभावितलाई सम्मानपूर्वक पुनःस्थापित गर्न दीर्घकालीन सामाजिक पुनर्स्थापनाको कामसमेत तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
विपद्का बेला महिलामाथि हिंसा तथा यौन शोषणको जोखिम बढ्ने र पानी तथा हेरचाहको अतिरिक्त बोझसमेत थपिने भन्दै उनले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकता दिनुपर्ने बताइन्।
धितालले बाढीका कारण कतिपय नागरिकका दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक बाहिरी संसारसँग सम्पर्कविहीन भएको उल्लेख गरिन्।