अमेरिकी ऊर्जा सचिवले राजीनामा दिने
अमेरिकी ऊर्जा सचिव रिक पेरी राजीनामा दिने भएका छन्। युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई बर्खास्त गर्ने भनेपछि उनले राजीनामा दिन लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
छानविन समितिले पेरीलाई युक्रेनको स्वामित्वमा रहेको ऊर्जा कम्पनीसँग सम्बन्धित कागजपत्र तथा ट्रम्प र युक्रेनका राष्ट्रपति बोल्डोमाइर जेलेन्स्कीबीच भएको वार्ताको प्रमाण पेश गर्न आग्रह गरेको थियो। तर समितिमा दुवै राष्ट्रपति बीचको संवादमा सचिव पेरीले आफ्नो संलग्नता रहेको बताएपछि उक्त घटना सार्वजनिक भएको हो।
राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई जुलाई २५ मा गरेको टेलिफोन संवादमा आफ्ना प्रतिद्वन्द्वी जो विडेन र उनका छोरामाथि छानविन गर्न दवाब दिएको बताइएको छ। जो विडेनका छोरा युक्रेनी ग्यास कम्पनीमा कार्यरत रहेको बताइएको छ।
सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ।
राष्ट्रपति ट्रम्पले युक्रेनसँग गरेको व्यवहारमा सचिव पेरीले खेलेको भूमिकाको आधारमा लगाइएको महाअभियोगको छानविन भइरहेका बेला ट्रम्पको यस्तो निर्णय गरेका हुन्।