बाढीपीडितका लागि कचनकवलबाट २९ लाख र कपिलवस्तुका कैदीबन्दीबाट १ लाख सहयोग
रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६ हजार १०० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट रकम संकलन गरिएको हो। गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधिबाट ७१ हजार, कर्मचारीबाट ९ लाख २२ हजार ५२४ र शिक्षक–कर्मचारीबाट १८ लाख १२ हजार ५६७ रुपैयाँ संकलन गरिएको छ।
यस्तै, बाढीपीडितको राहत तथा उद्धारका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले २४ लाख १७ हजार ९०० रुपैयाँ सहयोग गरेको छ।
यसैबीच, कपिलवस्तु कारागारका ४२२ कैदीबन्दीले समेत प्रधानमन्त्री विपद् राहत कोषका लागि १ लाख १ हजार १११ रुपैयाँ संकलन गरेका छन्। कैदीबन्दीले आफ्नो खर्चबाट रकम छुट्याएर बाढीपीडितलाई सहयोग गरेका हुन्।
गत भदौ १० गते हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।