नुवाकोटमा १७७ शव फेला, १६ जनाको पहिचान
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा हालसम्म १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान गरी परिवारलाई बुझाइएको छ भने बाँकी शव परीक्षणका लागि काठमाडौं पठाइएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ड्रोन, तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा जिल्लाका ३० स्थानमा खोजी गरी जमिनको सतहमा रहेका शव सङ्कलनको प्रारम्भिक चरण पूरा गरेको हो।
अब प्रहरीले बाढीले पुरिएका घर तथा बस्तीमा उत्खनन र खानतलासीमार्फत शव खोजी गर्ने जनाएको छ। बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटलगायत क्षेत्रमा खोजीलाई केन्द्रित गरिएको छ।