दुई लाख घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा कैलालीका एक विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो।
तोकिएबमोजिम थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले बमलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा बमले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई लाख रुपैयाँ बिगो कायम गरेको छ।
अख्तियारले बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गर्दै बमविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।