त्रिभुवन विमानस्थलमा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ ।
सोमबार झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो । त्यसक्रममा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।
प्रहरीका अनुसार विमानस्थल परिसरमा प्रहरीसँग मुठभेड गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी रहेका छन् ।
प्रसाईं विमानस्थलबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी तथा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले विमानस्थलको संवेदनशीलता र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै त्यसलाई रोक्ने प्रयास गरेको बताइएको छ ।
घटनापछि विमानस्थल परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।