विपद् प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहका प्रमुख सहभागी छन्।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्था, हालको परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
छलफलमा नुवाकोटका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
त्यस्तै, रसुवाका उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ तथा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ अनलाइनमार्फत सहभागी भएका छन्।
धादिङका गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया पनि छलफलमा उपस्थित छन्।
तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना पनि छलफलमा सहभागी छन्।