हरितालिका तीजमा पशुपतिनाथमा महिलाको भीड
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व सोमबार शिव–पार्वतीको पूजा–आराधना गरी मनाइँदैछ। तीजका अवसरमा व्रत बसेर पूजापाठ गर्न पशुपतिनाथ मन्दिर परिसरमा महिलाको उल्लेख्य भीड लागेको छ। व्रतालु महिला तथा दिदीबहिनीहरू पूजाआराधनासँगै सेल्फी खिच्न पनि व्यस्त देखिएका छन्।
धार्मिक मान्यताअनुसार तीजमा व्रत बसी शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। सामाजिक रूपमा भने यो पर्व महिलाहरूले श्रीमान्को दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामनाका लागि मनाउने पर्वका रूपमा स्थापित हुँदै आएको छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले बस्ने धार्मिक विधान छ। शास्त्रीय मान्यताअनुसार व्रत बस्ने पुरुषले विधुर हुनु नपर्ने, महिलाले अटल सौभाग्य प्राप्त गर्ने तथा अविवाहित महिला–पुरुषले गुणसम्पन्न जीवनसाथी पाउने विश्वास रहेको छ।
पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गौरीघाटमा बसेर कठोर तपस्या गरेकी थिइन्। पार्वतीको तपस्याबाट प्रसन्न भई महादेवले उनलाई वरदान दिएको विश्वासका आधारमा हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ।